Tuesday October 27, 2020  |    | 

इरानमाथिको प्रतिबन्धको अवहेलना नगर्न अमेरिकी विदेशमन्त्री पोम्पिओको रसिया र चीनलाई चेतावनी

Samana prasai - 2020 Aug 20 11:06 AM
IMG

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले चीन र रसियालाई इरानमाथि संयूक्त राष्ट्रसंघले पुनः लगाउन लागेको प्रतिबन्धको अवहेलना नगर्न चेतावनी दिएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पोम्पिओलाई बिहीबार न्यू योर्कमा हुने संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा यसबारे कुरा राख्न निर्देशन दिएका छन्।

पोम्पिओले २०१८ मा वाशिङ्टनले सन् २०१५ मा भएको आणविक सम्झौता त्यागेको भएपनि इरानले त्यसको पालना नगरेको बारे उजुरी पेश गर्न परिषद्को अगस्ट महिनाका अध्यक्ष डियान त्रियानस्याह ड्जानीसँग भेट गर्दैछन्।

सन् २०१५ मा भएको इरान, रसिया, चीन, जर्मनी, बेलायत, फ्रान्स र अमेरिकाबीचको आणविक सम्झौताले तेहरानलाई आणविक हतियारको विकास गर्न रोक लगाएको छ। त्यो सम्झौता सन् २०१५ को सुरक्षा परिषद्को प्रस्तावमा राखिएको थियो।

अमेरिकाले आणविक कार्यक्रमलाई लिएर इरानलाई नयाँ सम्झौतामा ल्याउन चाहन्छ। उसले यसलाई एकपक्षीय प्रतिबन्धहरूको आफ्नो 'अधिकतम दवाव' अभियान भन्ने  गरेको छ।

कुटनीतिज्ञहरूले कथित प्रतिबन्धको प्रक्रिया सहज नहुने बताएका छन्। रुस, चीन र अन्य देशहरुले अमेरिकाको कदममाथि प्रश्न उठाएकाले यो प्रक्रिया सहज नहुने कुटनीतिज्ञहरूको बुझाइ छ।

पोम्पिओले बिहीबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रसलाई पनि भेट्नेछन् ।

पोम्पिओले सुरक्षा परिषदमा उजुरी पेश गरेपछि यसले तेहरानको प्रतिबन्धमा राहत पुर्याउने प्रस्ताव पारित गर्न ३० दिनको समय हुन्छ, यसबाहेकको अवस्थामा यो स्वतः फिर्ता हुनेछ।

कमेन्ट गर्नुहोस्