Monday October 19, 2020  |    | 

निजी विद्यालयले संकाय प्रणालीमै भर्ना खोले : कक्षा ११ मा नयाँ पाठ्यक्रम

Samana prasai - 2020 Aug 20 11:44 AM
IMG
शिक्षा मन्त्रालयले यही शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुने जनाए पनि निजी विद्यालयले भने एसईई नतिजा सार्वजनिक भएलगत्तै पुरानै पाठ्यक्रम (संकाय प्रणाली) अनुसार भर्ना आह्वान गरेका छन् ।
संकायअनुसार भर्ना खोल्नु बदमासी हो । नयाँ पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक छापिइसक्यो । त्यहीअनुसार पठनपाठन हुन्छ । – केशवप्रसाद दाहाल, महानिर्देशक, पाठ्यक्रम विकास केन्द्र
काठमाडौँ — शिक्षा मन्त्रालय र निजी विद्यालयका कारण कक्षा ११ मा भर्ना हुने विद्यार्थी अन्योलमा परेका छन् । शिक्षा मन्त्रालयले यही शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुने जनाएको छ ।

गत आइतबार एसईईको नतिजा सार्वजनिक भएपछि केही निजी विद्यालयले भने पुरानै पाठ्यक्रम (संकाय प्रणाली) अनुसार अनलाइनबाट भर्ना आह्वान गरेका छन् ।

कोरोना संक्रमण बढेपछि सरकारले भदौ १५ गतेसम्म भर्ना रोके पनि अधिकांश निजी विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, संकायमा भर्ना खुलेको सूचना सार्वजनिक गरेका छन् । नयाँ पाठ्यक्रममा संकाय प्रणाली खारेजी गरिएको छ । विद्यार्थीले कक्षा ९ र १० मा जस्तै कक्षा ११ मा अनिवार्यसहित ऐच्छिक विषय छनोट गरेर पढ्न पाउने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकाका ठूला र नाम चलेका निजी विद्यालयले एसईईको नतिजा नआउँदै संकाय प्रणालीमै प्रि–भर्ना र रजिस्ट्रेसन आह्वान गरेका थिए । दुई वर्षअघि पाठ्यक्रमको प्रारूप तयार हुँदादेखि नै नयाँ पाठ्यक्रममा निजी विद्यालयको असन्तुष्टि रहेको छ । कोरोना संक्रमणको कारण देखाएर विद्यालयका सञ्चालक नयाँ पाठ्यक्रम लागू गर्न नसकिने तर्क गर्न थालेका छन् । शिक्षक, विद्यार्थी र अभिभावक भने नयाँ कि पुरानो पाठ्यक्रमका आधारमा पढाइ हुने अब स्पष्ट हुनुपर्ने बताउँछन् ।

केन्द्रले नयाँ पाठ्यक्रम लागू गर्न आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । ‘सरकारले नयाँ पाठ्यक्रम भनेको छ, स्कुलहरूले पुरानै तरिकाले भर्ना खोलेका छन्,’ कक्षा ११ मा भर्ना हुने तयारीमा रहेका विद्यार्थी सन्देश थापाले भने, ‘कोरोनाले कक्षा हुने/नहुने पनि थाहा छैन, नयाँ कि पुरानो पाठ्यक्रमले झनै अलमल गरायो ।’

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा लैजान पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले निर्णय गरिसकेको छ । कक्षा ११ मा भर्ना हुने आधारहरू समेत तय भइसकेको छ । केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालका अनुसार अनिवार्य विषयका पाठ्यपुस्तक छपाइको कामसमेत सकिएको छ । नयाँ पाठ्यक्रममा कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक तथा जीवनोपयोगी शिक्षा अनिवार्य विषयका रूपमा पठनपाठन हुनेछ । ऐच्छिक विषयका लागि चारवटा विषयगत समूह बनाइएको छ । ती समूहबाट विद्यार्थीले ३ विषय छानेर पढ्न पाउने व्यवस्था छ । ‘अग्रेजी र नेपाली विषयको पाठ्यपुस्तक जनक शिक्षामा छापिँदै छ, केही दिनमा बजारमा आउँछ,’ उनले थपे, ‘ऐच्छिक विषयका पाठ्यपुस्तक निजी क्षेत्रबाट तयार भएको छ, मूल्यांकन र स्वीकृत गरेर छाप्न भन्छौं ।’ सामाजिक र जीवनोपयोगी शिक्षा विषयको पनि पाठ्यक्रम बनाएर पुस्तक छपाइको प्रक्रिया सुरु गरिएको उनले जनाए ।

संकाय प्रणाली अन्त्य भइसकेकाले त्यसअनुसार भर्ना आह्वान गर्नु बदमासी भएको महानिर्देशक दाहालले बताए । ‘हिजो संकायअनुसार पढाइ हुन्थ्यो, यसपालिदेखि हुँदैन, खारेज भइसक्यो, संकाय नै छैन, त्यसअनुसार भर्ना खोल्छन् भने अभिभावक र विद्यार्थी पनि सचेत हुनुपर्छ ।’ नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउन विद्यालयहरूलाई परिपत्रसमेत गरिएको केन्द्रले जनाएको छ । ‘कक्षा ११ र १२ विद्यालय शिक्षा हो, ९–१० कक्षामा जसरी अनिवार्य र ऐच्छिक विषयअनुसार पढाइ हुन्छ, ११–१२ मा पनि त्यसैगरी पढाइ हुन्छ,’ उनले भने । नयाँ व्यवस्थाअनुसार कक्षा ११–१२ मा संकाय र कलेज भन्न पाइँदैन । तर निजी विद्यालयले संकाय र कलेज भन्न छाडेका छैनन् ।

देशभर कक्षा ११ र १२ पढाइ हुने १० हजार ३ सय ७३ सामुदायिक र ४ हजार ६ सय ५८ निजी विद्यालय छन् । ती सबैमा यसपटकबाट ३ अनिवार्य र ३ ऐच्छिकसहित ६ विषयको पठनपाठन हुने मन्त्रालयले जनाएको छ । उच्चशिक्षामा कुन संकाय पढ्ने त्यसअनुसार कक्षा ११ र १२ मा विषय रोज्न पाउने व्यवस्था गरिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए । ‘उच्चशिक्षामा विज्ञान संकाय पढ्नेले गणित, फिजिक्स, केमेस्ट्री, बायोलोजीलगायत विज्ञानसँग सम्बन्धित विषय रोज्न सक्छन् । व्यवस्थापनतर्फ जाने विद्यार्थीले अर्थशास्त्र, फाइनान्स, मार्केटिङ, बिजनेस स्टडी, एकाउन्टलगायत विषय ऐच्छिक रोज्न पाउँछन्,’ उनले भने । भाषाका विषयमा उच्चशिक्षा अध्ययन गर्न पाउनेले अंग्रेजी, नेपाली, पत्रकारितालगायतका विषय छान्न

पाउने व्यवस्था गरिएको छ । करिब एक सय ऐच्छिक विषय राखिएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले भने यसपटक नयाँ पाठ्यक्रम लागू गर्न नसकिने जनाएको छ । सरकारलाई समेत यस विषयमा जानकारी गराइएको हिसान महासचिव लोकबहादुर भण्डारीले बताए । ‘नयाँ पाठ्यक्रम लागू हुने कुरा हामीलाई औपचारिक रूपमा जानकारी छैन, त्यसैले पुरानै तरिकाले भर्ना खोलिएको हो ।’ कोभिड संक्रमणका कारण पुरानै पाठ्यक्रमका आधारमा पठनपाठन गराउन पनि चुनौतीपूर्ण रहेको उनले औंल्याए । ‘सरकारले शैक्षिक सत्र गुम्न नदिनेतिर ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘तयारीबिनै नयाँ पाठ्यक्रम कार्यान्वयनमा जान सकिँदैन ।’ नयाँ पाठ्यक्रममा जाँदा शिक्षक तालिम अनिवार्य हुनुपर्ने विद्यालय सञ्चालकको तर्क छ । अधिकांश कक्षा ११–१२ पढाइ हुने निजी विद्यालय संकायका संरचनामा खुलेका छन् ।

नयाँ व्यवस्थामा जाँदा विद्यार्थी घट्ने त्रासमा उनीहरू रहेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । नयाँ पाठ्यक्रमअनुसार ६ विषय पठनपाठन गराउँदा शिक्षकको भारसमेत थपिने निश्चित छ । अघिल्लो वर्षदेखि नै उनीहरूले नयाँ पाठ्यक्रम लागू नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीदेखि उच्च राजनीतिक तहमा समेत लबिइङ गर्दै आएको स्रोतको दाबी छ । प्रधानमन्त्रीनिकट हिसान अध्यक्ष रमेश सिलवालले निजी विद्यालय सञ्चालकहरूको एक भेलामा नयाँ पाठ्यक्रम लागू हुन नदिन आफूले लबिइङ गरिरहेको बताएको एक सञ्चालकले बताए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहने परिषद्ले भने गत माघ २ मै कक्षा १ र ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाउने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयका एक उच्च अधिकारी भने निजी विद्यालय सञ्चालकहरू नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न हतारमा संकायअनुसारको भर्नामा जुटेको बताउँछन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले तोकेभन्दा अन्य पाठ्यक्रमबाट अध्ययन अध्यापन गराउन कसैलाई पनि छुट नदिइने बताए । ‘संकाय प्रणालीबाट भर्ना खोल्छन्, पढाउँछन् भने पनि राष्ट्रिय परीक्षा बोर्डले नयाँ पाठ्यक्रमकै आधारमा परीक्षा लिन्छ,’ उनले भने । पाठ्यक्रमविपरीत भर्ना खोल्ने निजी विद्यालयलाई स्थानीय तहले पनि निगरानी र अनुगमन गरेर कारबाही गर्नुपर्ने उनको भनाइ छ । ‘हामी पनि हेर्दैछौं, स्थानीय तहले पनि कारबाही गर्नुपर्छ,’ उनले भने ।


कमेन्ट गर्नुहोस्