Monday October 19, 2020  |    | 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता

Samana prasai - 2020 Aug 25 11:08 AM
IMG

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ। 

दुई नेताबीच बालुवाटारमा बिहान १० बजेअघिदेखि भेटवार्ता शुरू भएको हो।

अध्यक्षद्वयबीच पार्टी महासचिव विष्णु पौडेल नेतृत्त्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले बताए।

अध्यक्षद्वयको छलफलपछि उक्त प्रतिवेदन सचिवालय बैठकमा पेस गरिनेछ।

कार्यदलले शनिबार सुझावसहितको १६ पृष्‍ठको प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई पूरै कार्यकाल सरकारको नेतृत्वमा र अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको काममा केन्द्रित हुन सुझाव दिइएको बताइएको छ।

निषेधाज्ञा सकिएलगत्तै स्थायी कमिटीको बैठक राख्न र आगामी २५-३० चैतमा महाधिवेशन गर्न कार्यदलले सुझाएको छ।

यससँगै सदस्यता वितरण, दस्तावेजीकरणलगायतका विषयको तयारी गर्न असोजको अन्तिम साता केन्द्रीय कमिटीको बैठक राख्न र पार्टी एकताको भावनाअनुसार आगामी महाधिवेशन बहुमतीय आधारमा नभएर सहमतिमा गर्न पनि प्रतिवेदनमार्फत कार्यदलले सुझाव दिएको छ।

महासचिव पौडेल नेतृत्वको कार्यदलमा सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुषाल, भीम रावल र सुरेन्द्र पाण्डे रहेका थिए।

१ भदौमा बसेको नेकपा सचिवालय बैठकले दिएको कार्यादेशअनुसार छलफल गरेर सुझावसहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको हो।

अध्यक्षद्वयले पार्टीमा देखिएको विवाद समाधानका लागि भन्दै ३० साउनमा कार्यदल गठन गरेका थिए।

कमेन्ट गर्नुहोस्