Tuesday October 27, 2020  |    | 

दुवईंमा नेपाल ब्याडमिन्टन कम्युनिटीलाई दुई रजतपदक

Njn Khanal - 2020 Sep 12 04:13 PM
IMG

संयुक्त अरब इमिरेट्स (युएईं) को दुवईमा भएको दुवई इन्टर कम्युनिटी (समुदाय) क्लब ब्याडमिन्टन प्रतियोगितामा नेपालले दुई रजतपदक हात पारेको छ ।

महिला डबल्समा रजतपदक विजेता ज्ञानुमाया बराल र सानिया चन्द ।


दुवई स्पोर्ट्स काउन्सिल र सटल टाइम दुवईको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालले महिला डबल्स र मिक्स डबल्समा रजतपदक जित्दै प्रतियागितामा दोस्रो स्थान समेत हात पार्न सफल भएको हो ।

नेपालले महिला डबल्स र मिक्स डबल्समा रजतपदक जित्न सफल भएको हो । महिला डबल्समा ज्ञानुमाया बराल र सानिया चन्दको जोडीले तथा मिक्स डबल्समा बिक्की बुढामगर र ज्ञानुमाया बरालको जोडीले रजतपदक हात पारेको हो ।

नेपालले प्रतियोगितामा राखिएको सबै ५ इभेन्ट (पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्स) मा सहभागिता जनाएपनि दुई विधामा मात्रै पदक जित्न सफल भएको अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले जानकारी गराए ।

मिक्स डबल्समा रजतपदक विजेता बिक्की बुढामगर र ज्ञानुमाया बराल ।

पुरुष एकलमा साहिल चन्द, महिला एकलमा सानिया चन्द, पुरुष डबल्समा बिक्की बुढामगर र शंकर भुसालले प्रतिस्पर्धा गरेको थियो । नेपाली टोलीलाई पुर्व नेपाल जुनियर च्याम्पियन सुमन उदयले प्रशिक्षण प्रदान गरेका थिए ।

४ सेप्टेम्वरदेखि शुरु भएको प्रतियोगितामा ८ देशका कम्युनिटीले प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालसहित सिरिया, युएई, भारत, चाइना, फिलिपिन्स, पाकिस्तान र श्रीलंकाका कम्युनिटीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भारत पहिलो, नेपाल दोस्रो, फिलिपिन्स तेस्रो, चीन चौथो, सिरिया पाँचौं, पाकिस्तान छैटौं, श्रीलंका सातौ र युएईं आठौं स्थानमा रह्यो ।

गैर–आवासिय नेपाली संघ (एनआरएनए) सदस्य हिरालाल श्रेष्ठको पहलमा दुवईमा बसोबास गर्दै आएका नेपालीहरु मिलेर केही महिनाअघि नेपाल ब्याडमिन्टन कम्युनिटी–दुवईको स्थापना गरिएको थियो । सोही कम्युनिटीमार्फत नेपाली खेलाडीले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्