Tuesday October 27, 2020  |    | 

देउवाले गरेका निर्णय फिर्ता गर्न माग गर्दै पौडेल पक्षले विरोधपत्र दर्ता गराउँदै

Njn Khanal - 2020 Sep 27 03:40 PM
IMG

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षले गरेका निर्णय फिर्ता गराउन मागसहित केन्द्रीय कार्यालयमा आइतबार पत्र दर्ता गराउने भएको छ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण प्रक्रिया, मनोनित केन्द्रीय सदस्य र भ्रातृ संस्थाको म्याद थपका विषयमा असहमतिसहित पत्र दर्ता गराउन लागेको हो। पौडेल पक्षका २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित पत्र दर्ता गर्न लागिएको नेता गुरुराज घिमिरेले जानकारी दिए।

केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गराउन केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र दीपक गिरीलाई जिम्मेवारी दिइएको बताइएको छ। नेता कृष्णप्रसाद सिटौला पक्षका नेताहरुलाई विरोध पत्रमा हस्ताक्षर गराउने पौडेल पक्षको पहल भने सार्थक हुन सकेन।

बिहान पौडेल र सिटौलाबीच भएको वार्तामा सिटौलाले आफ्नो पक्षले हस्ताक्षर नगर्ने बताएका हुन्। सिटौला पक्षले हस्ताक्षर नगरेसँगै पौडेल पक्षका २७ जनाको हस्ताक्षर सहितको विरोध पत्र दर्ता गर्न लागिएको हो। पौडेलसँगको भेटबारे नेता सिटौलाले नेपाल लाइभसँग भने, ‘उहाँहरु (पौडेल)ले तयार गरेको विरोधपत्रमा हामीले किन हस्ताक्षर गर्नु? महाधिवेशनको सुनिश्चिता हुनुपर्छ। मेरो कुरा केन्द्रीय समितिको बैठकमा राख्छु।’

निर्णय फिर्ता गर्न दबाब दिन पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई अल्टिमेटम दिने बताइएको छ। अल्टिमेटमको समयावधिमा पूर्व निर्णय फिर्ता नभए अन्तक्रिया, धर्ना, अनसनलगायतका दबाब गर्ने पौडेल पक्षको तयारी छ।



कमेन्ट गर्नुहोस्